नियम ४८
वैदेशिक सहायताबाट प्राप्त हुने मालसामानको व्यवस्था
(१) वैदेशिक सहायता सम्बन्धी सम्झौतामा वस्तुगत सहायता पनि समावेश भएकोमा त्यसको प्रतिलिपि अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता भएको तीस दिनभित्र महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ । अर्थ मन्त्रालयले समेत वस्तुगत सहायता अन्तर्गत प्रदान गरिएको सहायताको विवरण उपशीर्षक अनुसार दातृ पक्षबाट महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराई दिने व्यवस्था मिलाउनु पर्नेछ । यसरी उपलब्ध गराइने विवरणमा उपशीर्षक समेत खुलाउनु पर्नेछ ।
(२) कार्यालय वा आयोजनाले सहायताबाट प्राप्त हुने जिन्सी मालसामान वा अन्य कुनै प्रकारको वस्तुगत सहायता प्राप्त गरेपछि सोको विवरण र मूल्य खुलाई आम्दानी बाँधी प्राप्त भएको जिन्सी मालसामान वा वस्तुगत सहायताको मूल्य समेत खुलेको विवरण पन्ध्र दिनभित्र महालेखा नियन्त्रक कार्यालयमा पठाई त्यसको जानकारी तालुक मन्त्रालय वा विभागलाई दिनु पर्नेछ । यसरी जानकारी प्राप्त भएपछि मन्त्रालय वा विभागले सोको लगत राख्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम वस्तुगत सहायताको विवरण प्राप्त भएपछि महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित कार्यालयमा रहेको जिन्सी मालसामानको निरीक्षण गरी त्यस्तो वस्तुगत सहायताको हिसाब वार्षिक केन्द्रीय आर्थिक विवरणमा समावेश गर्नु पर्नेछ ।
(४) वैदेशिक सहायता सम्बन्धी सम्झौता अन्तर्गत प्राप्त भएको वस्तुगत सहायतामा राजस्व छुट दिएको भए सोको विवरण अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ । यसरी वस्तुगत सहायतामा प्राप्त भएको राजश्व छुटको व्यहोरा सम्बन्धित कार्यालयले दाखिला रिपोर्ट र जिन्सी किताबमा पनि जनाउनु पर्नेछ ।
(५) नेपाल सरकारले निर्धारित राजस्वको दरमा छुट दिई कुनै आयोजना वा कार्यालयको नाममा मालसामान पैठारी गर्न स्वीकृति दिएको भए त्यस्तो मालसामानको पैठारी लगत सम्बन्धित आयोजना वा कार्यालयले राख्नु पर्नेछ । त्यसरी पैठारी भएको मालसामान पछि हस्तान्तरण भई नेपाल सरकारको स्वामित्वमा आएमा त्यस्तो मालसामानको विवरण आयोजना वा कार्यालयको सहायक खातामा राखी प्रयोग गर्नेको
नाम नामेसी खुलाइ राख्नु पर्नेछ ।
(६) वस्तुगत सहायता अन्तर्गत कुनै एक आयोजना वा कार्यालयले मालसामान प्राप्त गरी विभिन्न आयोजना वा कार्यालयमा त्यस्तो मालसामान बाँडफाँड वा हस्तान्तरण गर्ने भएमा हस्तान्तरण गर्दा प्रति ईकाइ मूल्य र प्राप्त मिति, मालसामानको विवरण र भन्सार छुट भए वा नभएको व्यहोरा समेत खुलाउनु पर्नेछ ।